२२ फाल्गुन २०८२, शुक्रबार
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताएका छन् । शुक्रबार (फागुन १) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान संविधान पुनरवलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गरे । उनले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गरे ।


संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरूको सूची समेत अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको अध्यक्ष यादवको भनाइ छ । उनले प्रदेशहरूको पुनर्संरचना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताए ।
राज्यका निकायहरूमा आंशिक समावेशिता भए पनि समुदायको जनसंख्याका आधारमा प्रतिनिधित्व हुन नसकेको उनको तर्क छ । उनले नेपालको संसदीय प्रणाली असफल भइसकेको जिकिर गर्दै वर्तमान निर्वाचन प्रणाली समेत अत्यधिक खर्चिलो भएको टिप्पणी गरे ।
“संविधान संशोधनको आवश्यकता हामी संविधान बनेदेखि नै उठाउँदै आएका छौँ । वर्तमान राजनीतिक समस्याहरूको समाधानको लागि वर्तमान संविधान पुनरवलोकन गर्न आवश्यक छ,} उनले भने ।
उनले संघीय शासन प्रणाली लागु भए पनि न्याय प्रणाली अझै केन्द्रीकृत र एकात्मक ढाँचामा सीमित रहेका कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बन्न पुगेको तर्क गरे । यी सबै समस्याको समाधान गर्न संविधान संशोधन गर्न जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल