२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात र दुर्व्यवहार गर्ने सवारी चालक पक्राउ परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानलाई तीव्रता दिएको छ।
प्रहरीका अनुसार उक्त घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक फोटो, भिडियो र विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित नक्कली श्रव्यदृश्य सामग्रीहरू फैलाइरहेका छन्। यस्ता भ्रामक सामग्रीहरू प्रहरीको निगरानीमा आइसकेका छन्।


अनुसन्धान भइरहेको गम्भीर विषयमा सत्यता नभएका र समाजमा भ्रम फैलाउने सामग्री सम्प्रेषण गर्ने कार्य आफैँमा अर्को अपराध भएको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गर्नेहरू पनि अनुसन्धानको घेरामा आउन सक्ने तर्फ सचेत गराएका छन्। प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवारी बोध गर्न र मानवीय कर्तव्य पालना गर्न सबैलाई आग्रह गरेको छ।
