८ बैशाख २०८२, सोमबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बताएका छन् ।
४३ औं राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रुमलिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दैहुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुँन्छ । उहाँहरुले अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ ।’
नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउदै पौडेलले भने, ‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन् । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’
सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको बताउँदै उनले बर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनि काण्ड जस्ता कयौ काण्डमा सरकार मुछिएको बताए। ठूला सवै आयोजना प्रधानमन्त्री कार्यालयको मताहतमा राखेर प्रधानमन्त्रीले बोली भन्दा व्यवहार फरक गरेर भ्रष्टचारलाई प्रश्रय दिएको उनको भनाई थियो ।
पौडेलले विपीले लिएको मेलमिलापको नीतिको सान्र्दभिकता अझै रहेको बताउदै अब राष्ट्रिय हित र राष्ट्रियताका लागि राष्ट्रिय शक्तीका बीचमा अझै पनि एकता आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेसले राष्ट्रियताका लागि मेलमिलाप आवश्यक रहेको निष्कर्षमा अझै रहेको भन्दै कांग्रेस राष्ट्रवादी शक्ती भएको र यसले हिमाल पहाड तराईलाई एकै ठाँउमा राख्ने बताए ।
आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पौडेलले भने, ‘पार्टी एक बन्नुपर्छ भनेर मैले विपी सुवर्णका पालादेखि नै भन्दै आएको हो । तर पार्टी एकता मुद्दामा हुन्छ । जीवन्त र लोकतान्त्रीक पार्टीमा छलफल र बहस हुन्छ ।’