रास्वपाले काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम गर्ने, यस्तो छ रुट

होमल्याण्ड खबर

२०८२ फाल्गुन १५ गते, शुक्रबार १५:१८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ। पार्टीले  शनिबार उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम गर्न लागेको हो।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमका लागि भेला हुने स्थान पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ तोकिएको छ। बिहान ६: ३० बजे पशुपतिनाथबाट सुरु हुने यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

सार्वजनिक गरिएको रुट म्याप अनुसार, यात्रा पशुपतिनाथ (बिहान ६:३०) बाट सुरु भई चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ।

त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे खानाका लागि छोटो समय  छुट्याइएको छ।

दोस्रो चरणमा कालिमाटी (दिउँसो २ः००), टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुनेछ।

रास्वपाले कार्यक्रममा सहभागी हुने शुभचिन्तक तथा सर्वसाधारणलाई आफूलाई पायक पर्ने स्थानमा मात्र उपस्थित भई अभिवादन साटासाट गर्न अनुरोध गरेको छ। साथै, कार्यक्रम अवधिभर ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउन समेत पार्टीले अपिल गरेको छ। प्राविधिक कारणले समय र स्थानमा केही हेरफेर हुन सक्ने सम्भावना समेत रहेको जनाइएको छ।