२२ फाल्गुन २०८२, शुक्रबार
नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नभएको बताएको छ ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार पछिल्लो समय पेट्रोल पम्पहरूमा देखिएको लाइन तेलको कमीले नभई उपभोक्तामा फैलिएको अनावश्यक त्रास र सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण हल्लाका कारण सिर्जना बताए ।


सामान्य अवस्थामा थोरै परिमाणमा तेल हाल्ने उपभोक्ताहरूले हल्लाको भरमा एकै पटक धेरै रकमको तेल सञ्चय गर्न खोज्दा र ट्याङ्की भर्न समय लागेकोले पम्पमा चाप बढेको उनले बताए ।
बजारमा देशभर दैनिक २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल र ४ हजारदेखि ४ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको निगम बताउँछ ।
निगमले हाल बजारको मागभन्दा बढी नै पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको दाबी गरेको छ । काठमाडौं उपत्यकामा मात्रै हिजो १ हजार ६५० किलोलिटरसम्म पेट्रोल वितरण भएको थियो । जुन सामान्य अवस्थाको तुलनामा निकै धेरै आपूर्ति हो।
प्रवक्ता ठाकुरले अनलाइन र सामाजिक सञ्जालमा पुराना तस्बिरहरु राखेर अभाव भएको भन्दै भ्रम फैलाइएको बताए ।
उनले भने ‘यस्ता हल्लाले गर्दा ग्यास र तेल दुवै क्षेत्रमा सर्वसाधारण आत्तिएको र अनावश्यक लुकाउने वा थुपार्ने प्रवृत्ति बढेको छ ।’
आपूर्ति व्यवस्थालाई सहज बनाउन थानकोट लगायतका मुख्य डिपो आज सार्वजनिक बिदाका दिन पनि खुला राखिएको छ ।
निर्वाचनको दिन बाहेक अन्य समयमा नियमित रूपमा तेल वितरण हुने छ । पेट्रोलियम पदार्थको वितरणमा कुनै अवरोध नहुने भएकाले ढुक्क हुन निगमले सबैमा आग्रह गरेको छ ।