खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

होमल्याण्ड खबर

२०८२ फाल्गुन २८ गते, बिहीबार १०:५० मा प्रकाशित

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू गम्भीर त्रासमा रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बढ्दो तनावले जनजीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनीसमेत दिएका छन्।

खाडीको युद्धले तेल र ग्यासको अभाव हुनुका साथै बजारमा मूल्यवृद्धि बढ्ने संकेत देखिएको उल्लेख गर्दै उनले भनेका छन्, “सम्भावित अभाव र मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने देखिएको छ।” यस्तो संवेदनशील समयमा नेपाली समाजलाई धैर्य र संयम अपनाउन उनले अपिल समेत गरेका छन्।

महासचिव पोखरेलले अब बन्ने सरकारले यो संकटलाई कम गर्न तत्काल ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्नेमा जोड दिएका छन्। संकटलाई बेलैमा सम्बोधन नगरिए यसले आर्थिक र मानवीय समस्या मात्र नभई भविष्यमा ठूलो भूराजनीतिक तनाव समेत निम्त्याउन सक्ने उनको तर्क छ।

“गम्भीर बनौं, सजग बनौं,” भन्दै उनले सरोकारवाला पक्षलाई समयमै सचेत हुन आग्रह गरेका छन्।