३ चैत्र २०८२, मंगलवार
विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको सुरक्षा र मानसिक स्वास्थ्यलाई दाउमा राखेर आफ्ना एल्गोरिदमहरूलाई बढी आक्रामक बनाएको तथ्य बाहिर आएको छ। बीबीसीको एक विशेष खोजमूलक रिपोर्ट ‘इनसाइड द रेज मेसिन’ मा दर्जनभन्दा बढी पूर्व कर्मचारी र ह्विसलब्लोअरहरूले मेटा (फेसबुक र इन्स्टाग्राम) र टिकटकले बढी इन्गेजमेन्ट र नाफाका लागि हानिकारक सामग्रीहरूलाई प्रोत्साहन गरेको खुलासा गरेका हुन्।
ह्विसलब्लोअरहरूका अनुसार टिकटकको बढ्दो लोकप्रियतासँग प्रतिस्पर्धा गर्न मेटाले आफ्ना प्लेटफर्महरूमा जानीजानी विवादास्पद र आक्रोश फैलाउने सामग्रीहरूलाई स्थान दिएको थियो। मेटाका एक पूर्व इन्जिनियरका अनुसार कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेपछि वरिष्ठ व्यवस्थापनले बोर्डरलाइन हानिकारक सामग्री, जसमा महिला द्वेष र षडयन्त्रका सिद्धान्तहरू समावेश हुन्छन्, लाई प्रयोगकर्ताको फिडमा बढी देखाउन निर्देशन दिएको थियो।


इन्स्टाग्राम रिल्स सार्वजनिक गर्दा पर्याप्त सुरक्षा मापदण्ड नअपनाइएको र त्यहाँ अन्य फिचरको तुलनामा गालीगलौज, उत्पीडन र घृणास्पद भाषणको मात्रा ७५ प्रतिशतसम्म बढी रहेको आन्तरिक अनुसन्धानले नै देखाएको थियो।
टिकटकका एक कर्मचारीले कम्पनीको आन्तरिक कार्यप्रणालीबारे जानकारी दिँदै राजनीतिक व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर राख्न बालबालिकाको सुरक्षासम्बन्धी गम्भीर उजुरीहरूलाई समेत बेवास्ता गरिएको बताएका छन्। उनले देखाएको तथ्याङ्कअनुसार कुनै राजनीतिज्ञको मजाक उडाइएको उजुरीलाई उच्च प्राथमिकतामा राखेर समाधान गरिन्थ्यो भने १६–१७ वर्षका किशोरकिशोरीहरूमाथि हुने यौन शोषण र साइबर बुलिङका उजुरीहरूलाई न्यून प्राथमिकतामा राखिन्थ्यो।
कम्पनीले कडा नियमन वा प्रतिबन्धबाट बच्नका लागि सरकार र राजनीतिज्ञहरूलाई खुसी पार्ने नीति लिएको ती कर्मचारीको दाबी छ।
एल्गोरिदमले कसरी युवाहरूलाई कट्टरपन्थी बनाउँछ भन्ने विषयमा १९ वर्षीय क्यालमले आफ्नो अनुभव सुनाउँदै १४ वर्षको उमेरदेखि नै आफूलाई आक्रोशित बनाउने सामग्रीहरू निरन्तर देखाएर एल्गोरिदमले जातीय र महिला द्वेषी सोचतर्फ धकेलेको बताएका छन्।
बेलायतका प्रति-आतंकवाद प्रहरी विज्ञहरूले पनि पछिल्लो समय सामाजिक सञ्जालमा यहुदी विरोधी, जातिवादी र हिंसात्मक पोस्टहरू ‘सामान्य’ जस्तै बन्नुमा यस्तै एल्गोरिदमको हात रहेको पुष्टि गरेका छन्। प्रयोगकर्ता जति धेरै समय प्लेटफर्ममा झुम्मिन्छन्, कम्पनीले त्यति नै धेरै विज्ञापन बेच्न पाउने स्वार्थका कारण हानिकारक सामग्रीलाई जानीजानी रोक्ने प्रयास नगरिएको ह्विसलब्लोअर म्याट मोटिलले बताएका छन्।
यी गम्भीर आरोपहरूको खण्डन गर्दै मेटा र टिकटकले आफूहरूले प्रयोगकर्ताको सुरक्षामा अर्बौँ डलर लगानी गरेको र बालबालिकाका लागि विशेष सुरक्षा फिचरहरू ल्याएको दाबी गरेका छन्। मेटाले आर्थिक लाभका लागि हानिकारक सामग्री फैलाएको कुरा गलत भएको बताएको छ भने टिकटकले राजनीतिक सामग्रीलाई प्राथमिकता दिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
तर, इन्जिनियरहरूका अनुसार डिप-लर्निङ एल्गोरिदमहरू एक प्रकारको ब्ल्याक बक्स जस्तै हुन्, जसले सामग्रीको गहिराइभन्दा पनि अङ्क र इन्गेजमेन्टलाई मात्र हेर्ने भएकाले यसलाई पूर्ण रूपमा सुरक्षित बनाउन असम्भव प्रायः छ।