५ चैत्र २०८२, बिहीबार
धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् ।
धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई दिएको निर्देशनलाई लक्षित गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।


आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएकी थिइन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ ‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ ।’
‘प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरी प्रशासनमार्फत अंकुश लगाउने प्रयासका रुपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ,’ स्थानीय तहका जनप्रतिनिधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
