इट्टाभट्टाको पर्खाल भत्किँदा ललितपुरमा एक जनाको मृत्यु, चार घाइते

होमल्याण्ड खबर

२०८२ चैत्र ८ गते, आईतवार १३:१४ मा प्रकाशित

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आइतबार बिहान सवा दश बजेतिर ललितपुर महानरपालिका( २८ हरिसिद्धीस्थित होसना इट्टाभट्टाको पर्खाल भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरमा एसपी, गौतम मिश्रले जानकारी दिए ।

पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको एसपी मिश्रले बताए ।

उक्त घटनामा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् ।

उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको छ ।

एसपी मिश्रका अनुसार चन्दको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् ।

कुवँर र मगरको दुवै खुट्टामा चोट लागेको छ । उनीहरू बोल्न सक्ने अवस्थामा छन् । यसैगरी, कुमालको बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको छ । उनी पनि बोल्न सक्ने अवस्थामा रहेको एसपी मिश्रले बताए ।

पाँचै जना उक्त इट्टाभट्टामा मजदुरी गर्दै आएका थिए ।