१० बैशाख २०८३, बिहीबार
यसअघि जो कोही प्रधानमन्त्री भए पनि प्रधानमन्त्री निवासमा सबैभन्दा पहिलो पहुँच विदेशस्थित राजदूतको हुने गर्थ्यो ।
रास्वपाका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह प्रधानमन्त्री भएपछि पहिलोपल्ट उनले बुधबार विदेशस्थित राजदूतहरुलाई सामूहिक भेट गर्दैछन्, त्यो पनि सिंहदरबारमा ।


राजदूतमात्रै होइन, बिहान र बेलुका प्रधानमन्त्रीले बालुवाटारमै सबैजसो भेटघाट गर्थे । महिनौँसम्म प्रधानमन्त्री सिंहदरबार टेक्दैनथे । अझ पार्टीका लागि रात्रिभोजसम्म बालुवाटारमै आयोजना हुने गरेका थिए ।
प्रधानमन्त्री बालेन नियुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा हुने औपचारिक भेटघाट पूर्णरूपमा बन्द गरेका छन् ।
उनले अघिल्ला प्रधानमन्त्रीका प्रचलनभन्दा फरक अभ्यास अपनाउँदै बालुवाटारमा कुनै पनि प्रकारका बैठक, राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम नगरेका हुन् ।
सिंहदरबार केन्द्रित कार्यशैली
प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री बालेनले सबै प्रकारका प्रशासनिक तथा औपचारिक काम सिंहदरबारबाटै सञ्चालन गरिरहेका छन् । बालुवाटारलाई औपचारिक गतिविधिबाट अलग राख्दै सिंहदरबारलाई केन्द्र बनाउँदै काम गर्नु उनको नयाँ कार्यशैली बनेको निकटहरूले बताएका छन् ।
“बालुवाटारमा औपचारिक भेटघाट हुँदैन, बिहानै सिंहदरबार पुगेर त्यहीँबाट भेटघाट र सबै काम गर्नुहुन्छ,” स्रोतले भन्यो । बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा ‘मेयर क्वाटर’मा औपचारिक भेटघाट गरेका थिएनन् ।
“प्रधानमन्त्रीज्यू मेयर हुँदा पनि आफ्नो क्वाटरमा कहिल्यै पनि औपचारिक भेटघाट गर्नुभएन । प्रधानमन्त्री हुँदा बालुवाटारमा औपचारिक भेटघाट गर्नुभएको छैन,” स्रोतले भन्यो ।
बिहानै कार्यालय पुग्छन् प्रधानमन्त्री
प्रधानमन्त्री बालेन केही दिनयता बिहान ८ः३० बजे नै सिंहदरबार पुग्छन् । यसअघि पनि उनी १० बज्नुअगावै कार्यालय पुग्ने गरेका थिए । नयाँ कार्यालय समय लागु भएपछि अझ छिटो उपस्थित हुन थालेका हुन् । मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।
निर्णयपछि प्रधानमन्त्रीको कार्यतालिका पनि सोहीअनुसार व्यवस्थित गरिएको सचिवालयले जनाएको छ ।
बालेन प्रधानमन्त्री भएपछि कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् । प्रधानमन्त्री निकट स्रोत भन्यो, ‘‘आफैँ बिहानै कार्यालय पुगेर दैनिक कामकारबाहीहरू अगाडि बढाइरहनुभएको छ । जनताप्रतिको भरोसाअनुसार कसरी परिणाम निकाल्ने भन्ने चिन्ता छ ।”
“सभापति र प्रधानमन्त्रीबीच पार्टीको वाचापत्रअनुसार सुशासन कायम गर्ने विषयमा लगातार छलफल भइरहेको छ,” स्रोतले भन्यो, “त्यहीअनुसार सरकार अघि बढिरहेको छ ।”
सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई सिधै प्रधानमन्त्री नभेट्न निर्देशन नै दिएका छन् ।
लामिछाने निकट स्रोतका अनुसार, उनले प्रधानमन्त्रीमार्फत गर्नुपर्ने काम आफूलाई भेटेर भन्नुपर्ने र आफूले सम्भव सबै काम प्रधानमन्त्रीमार्फत गराउने वचन दिएका छन् ।
“पार्टीका नेताहरू सिधै प्रधानमन्त्रीज्यूलाई भेट्न जानुहुन्न । सभापतिले केही समस्या भए आफूलाई भन्न निर्देशन दिनुभएको छ । सभापतिमार्फत नै प्रधानमन्त्रीसम्म पुग्ने हो,” स्रोतले भन्यो ।
सांसद र मन्त्रीसँग दैनिक छलफल
प्रधानमन्त्री बालेनले यतिबेला सबै दलबाट निर्वाचित सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरिरहेका छन् । साथै, मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूसँग पनि नियमित बैठक गरिरहेका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्माका अनुसार, शासकीय सुधारका लागि सरकारले चालेका कदमलाई परिणाममा पुर्याउन प्रधानमन्त्री केन्द्रित भएका छन् ।
“प्रधानमन्त्रीज्यू शासकीय सुधारका लागि निरन्तर छलफलमा हुनुहुन्छ । विभिन्न क्षेत्रका समस्या बुझ्ने र समाधान निकाल्नेमा केन्द्रित हुनुहुन्छ,” उनले भने ।
प्रधानमन्त्रीका प्रशासनिक कामहरू पूर्ण रूपमा सिंहदरबारबाटै सञ्चालन भइरहेका छन् ।
शासकीय सुधार र कार्यान्वयनमा जोड
मन्त्रिपरिषद्का निर्णय र १०० बुँदे शासकीय सुधार योजना तथा मन्त्रीहरूको कार्यप्रगति मूल्यांकन प्राथमिकतामा छन् ।
“यसअघि शासकीय सुधारका लागि १०० बुँदाहरू सार्वजनिक भइसकेका छन् । मन्त्रीहरूले एक हप्ताभित्र गरेको कामको विवरण बुझाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो । मन्त्रीहरूले कार्यविवरण बुझाउन ताकेता गरिएको छ,” स्रोतले भन्यो ।
बालेनले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् । ती मन्त्रालयमा कामको गति बढाउने विषयमा पनि उनले मन्त्रीहरूसँग नियमित निर्देशन र छलफल गरिरहेका छन् ।
उनकै नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको थियो । प्रतिवेदन थप अध्ययनका लागि समिति गठन गर्ने तथा आवश्यक कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको छ ।
यसक्रममा केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका थिए ।
प्रधानमन्त्री बालेनले प्रशासनिक सुधार, कार्यकुशलता र अनुशासनमा जोड दिँदै कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रयास गरिरहेको उनी निकट स्रोतले बताएको छ ।