निर्वाचित भएको एक वर्षपछि सांसदको शपथ लिँदै रेशम चौधरी

होमल्याण्ड खबर

२०७५ पुष १९ गते, बिहीबार ११:४७ मा प्रकाशित

राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्ने भएका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीले आज (बिहीबार) सांसदको शपथ लिन लागेको संसद सचिवालय स्रोतले जनाएको छ ।

टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर डिल्लीबजार कारागारमा राखिएको थियो ।

टीकापुर घटनापछि फरार रहेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट लडेका थिए । वारेशमार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा एमालेकी मदन कुमारी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेका थिए । चौधरीले निर्वाचन आयोगबाट सांसद निर्र्वािचत भएको प्रमाणपत्र भने पाएका छैनन् ।