चक्कु प्रहार गरी दाजुभाइको हत्या गर्ने दुई जना पक्राउ, कसरी भयो घटना ?

होमल्याण्ड खबर

२०८२ चैत्र २६ गते, बिहीबार १०:३५ मा प्रकाशित

ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ ।

चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

कसरी भयो घटना ?

बुधबार साँझ नेम्बाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्यो ।

उनीहरू एकापसमा अपरिचित समेत हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो ।

फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई नै पाटन आउन भने ।

त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् ।

सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।