परराष्ट्र मन्त्रालयका दुई महत्त्वपूर्ण काम : राजदूतहरूसँग भेट, मन्त्रीहरूलाई आचारसंहिताको पाठ

होमल्याण्ड खबर

२०८२ चैत्र २७ गते, शुक्रबार १६:३० मा प्रकाशित

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग गरेको सामूहिक भेटघाट फलदायी रहेको बताएको छ।

मन्त्रालयका अनुसार आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटघाट चैत २५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको थियो।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त संयुक्त भेटवार्तामा भारत, पाकिस्तान, गणतन्त्र कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन र संयुक्त राज्य अमेरिकाका राजदूत तथा नियोग प्रमुखहरूका साथै संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको उपस्थिति रहेको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले राजदूतहरूबाट नेपाली जनताको हितमा नतिजामूलक काम गर्न नयाँ सरकारलाई पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त भएको बताए। उनका अनुसार भेटमा प्रधानमन्त्री शाहले नेपाली श्रमिकहरू र समग्र नेपाली डायस्पोराको सुरक्षा, भलाइ र हितलाई सरकारले उच्च प्राथमिकता दिएको कुरामा जोड दिएका थिए। साथै, सुशासन सुनिश्चित गर्ने, आर्थिक विकास हासिल गर्ने र नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने सरकारको दृढ सङ्कल्प रहेकोसमेत प्रधानमन्त्रीले उल्लेख गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

त्यसैगरी, परराष्ट्र मन्त्रालयले नवनियुक्त मन्त्रिपरिषद्का सदस्यहरूका लागि नेपालको परराष्ट्र सम्बन्धका प्राथमिकताहरू तथा कूटनीतिक आचारसंहिताका विभिन्न पक्षबारे जानकारी दिन एक ब्रिफिङ कार्यक्रमसमेत आयोजना गरेको थियो।

उक्त कार्यक्रममा विदेशी सरकार, कूटनीतिक नियोग तथा पदाधिकारीहरूसँग हुने सम्पर्क र भेटवार्ताका क्रममा अपनाइने शिष्टाचार तथा कूटनीतिक आचारसंहितासम्बन्धी विषयमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रवक्ता क्षेत्रीले बताए।