११ बैशाख २०८३, शुक्रबार
काठमाडौंको वायु प्रदूषण अझै ‘अति अस्वस्थकर’ तहमा छ । बिहीबार (वैशाख १०)देखि यहाँको वायु प्रदूषण उच्च छ ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा पछाडि भारतको नयाँ दिल्ली (१८९ एक्यूआई) छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ सूचीमा रहेको हो ।


एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
नेपालको वातावरण विभागका अनुसार पनि भक्तपुर, दाङको देउखुरी, काठमाडौंको रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटीलगायत स्थानको वायु धेरै अस्वस्थकर छ ।
वायु प्रदूषणबाट विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । वायु प्रदूषणका बेला बिहान र बेलुका घरबाहिर ननिस्कन र निस्कन परे मास्क लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ ।