थापाथलीका सुकुम्बासीले खाली गर्न थाले बस्ती

होमल्याण्ड खबर

२०८३ बैशाख ११ गते, शुक्रबार ११:१६ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।

प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन्।

यससँगै सुकुम्बासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न सुरु गरेका हुन्। शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको छ ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी तीव्र बनाएको छ ।

बिहीबार साँझ काठमाण्डु महानगरको टोलीले शुक्रबार नै बस्ती खाली गर्न अल्टिमेटमसहितको माइकिङ गरेको थियो ।

महानगर प्रहरीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरिएको हो ।

आफैले ठाँउ खाली नगरे शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने चेतावनी दिएको छ।