१८ बैशाख २०८३, शुक्रबार
प्रधानमन्त्री वालेन्द्र शाहले २५७०औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बुद्ध जयन्तीको शुभकामना व्यक्त गरेका हुन् ।
यस अवसरमा प्रधानमन्त्री शाहले ‘बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा’ रहेको जनाएका छन् ।


‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ’ भन्ने बुद्धको भनाइलाई उलेलेख गर्दै उनले लेखेका छन्, ‘बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो । उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।’
प्रधानमन्त्री शाहले अगाडि लेखेका छन्, ‘साँचो क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो ।’
२५७०औँ बुद्ध जयन्ती देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।