भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छः कांग्रेस नेता भण्डारी

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार १२:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने होस् वा अरुतिर सबै भ्रष्टाचारीलाई कारबाही गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ । बदमास गर्नेहरुलाई कसैलेपनि छुट दिनुहुँदैन् ।’

नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको भन्दै उनले भने, ‘नेपालको ईतिहाँसमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए ।

अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’

नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको बताए । उनले भने,‘हामीले पञ्चायती व्यवस्थाको बेलामा पनि गधा काण्ड, चरेश काण्ड, उन काण्डदेखि प्लेन काण्ड सबै उठाएका हौं नि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् र यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले मैले यीनलाई बचाउनुपर्छ भन्ने शैलीमा, त्यो अर्थ लाग्नेगरि उहाँ बोलिदिनुहुन्छ । तर, उहाँले त्यो बोल्न हुँदैन थियो । उहाँले त बरु नेपालमा हत्या, हिंसा गर्ने र भ्रष्टाचारी जो सुकै होउन्, म उनीहरुलाई कारबाही गर्छु, म छोड्दिन भनेर बोल्नुपर्दथ्यो ।’

अख्तियार वा अदालतले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन्छ भने भोलिको सन्ततीले कानुन परिवर्तन गरेर भएपनि राज्यको सम्पत्ति फिर्ता गर्ने र कारबाही गरेरै छोड्ने पनि भण्डारीले उद्धघोष गरे ।