३१ बैशाख २०८३, बिहीबार
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर अग्रगमनका लागि हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संविधान केवल अक्षरहरूको संग्रह मात्रै नभइ रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज रहेको स्मरण गरे ।
संविधान अंकगणितको जोडघटाउ मात्रै नभइ राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी भएको जिकिर गरे ।


नेम्वाङले भनेका छन्,‘मेरो स्पष्ट धारणा छ, संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई, जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर ‘अग्रगमन’ का लागि हुनुपर्छ, न कि ‘पश्चगमन’ का लागि।यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमति दस्तावेज हो । संविधान अंकगणितको जोडघटाउ मात्रै होइन यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी हो, गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ्ग भरिनुपर्छ । तब मात्र त्यो कालजयी र साझा बन्छ ।’
नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प कतै नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । समाजको एउटा तप्का भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने, ती चिल्ला सडकहरूको के अर्थ? भन्दै उनले प्रश्न गरे ।
उनले भनेका छन्,‘यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन । बजारको कुरा गछौं र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौं, तर प्रश्न उठ्छ— जब उत्पादन नै छैन, तब बजार र वितरणको मात्रै सपना बाढेर हुन्छ के रु के हामी बजारको नाफामा मात्र बाँच्ने हो वा सधैँ विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने हो रु समृद्धिको अर्थ भौतिक विकास मात्रै होइन बरु प्रत्येक मान्छेको आत्मसम्मानको वृद्धि हो । जबसम्म कुनै पनि नागरिकको मनमा ‘यो देश मेरो पनि हो र रु’ भन्ने संशय रहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहनेछ ।