३ जेष्ठ २०८३, आईतवार
सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आज बुटवलमा प्रदर्शन गरेका छन् ।
प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । त्यहाँबाट मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि कार्यक्रम सभामा परिणत गरिएको समितिले जनाएको छ ।


प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिति रहेका २२ भन्दा बढी जिल्लाबाट आएका मानिसहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिएका थिए । प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
आयोजकहरूले सरकारले लामो समयदेखि बसोबास गर्दै आएका बस्तीलाई वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास गरेको भन्दै तत्काल समाधान खोज्न माग गरेका छन् ।