६ जेष्ठ २०८३, बुधबार
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि सरकारले नियन्त्रणका प्रयासहरूलाई तीव्रता दिएको छ । गत मे १५ मा महामारी घोषणा गरिएयता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३६ पुगेको छ ।
मन्त्री काम्बाले हालसम्मका १३६ मृत्युलाई ‘शंकास्पद’ श्रेणीमा राखिएको र ती मृत्युहरू प्रत्यक्ष रूपमा इबोला भाइरसकै कारण भएका हुन् वा होइनन् भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारी एडेलहेड मार्सचाङ आन्सियाकाअनुसार हालसम्म यस प्रकोपको सुरुवाती बिरामी (पेसेन्ट जिरो) को पहिचान हुन सकेको छैन । भाइरसको नमुना परीक्षण गर्दा यो ‘बुन्डिबुग्यो’ प्रजाति भएको पाइएको छ ।
नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल रिसर्चका महानिर्देशक जिन–ज्याक मुयेम्बेले यो भाइरस सन् २००७ र २०१२ मा देखिएको भन्दा फरक भेरियन्ट भएको र यो जङ्गलबाट सिधै फैलिएको नयाँ संक्रमण भएको बताए । महामारी नियन्त्रणमा सामाजिक अन्धविश्वास अर्को ठूलो चुनौती बनेको छ ।
कतिपय प्रभावित क्षेत्रमा स्थानीयले यस रोगलाई भाइरस नभई ‘श्राप’ वा ‘अदृश्य शक्ति’ को असर मान्ने गरेका कारण बिरामीको सूचना ढिलो प्राप्त भई संक्रमण थप फैलिएको स्वास्थ्य मन्त्रीले स्वीकार गर्नुभयो । यद्यपि, सरकारी सचेतना कार्यक्रमपछि यस्ता भ्रमहरूमा कमी आएको दाबी गरिएको छ ।
हाल यस विशिष्ट प्रजातिका विरुद्ध निश्चित खोप वा औषधि उपलब्ध नहुनु चिन्ताको विषय बनेको छ । यद्यपि, अफ्रिका सीडीसीले तीनवटा सम्भावित खोपहरू परीक्षणको क्रममा रहेको जनाएको छ ।
कङ्गो सरकारले मुङ्गब्वलु, रम्पारा र बुनियालाई संक्रमणको केन्द्रविन्दु (इपिसेन्टर) घोषणा गर्दै त्यहाँ उपचार केन्द्रहरू स्थापना गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य कोषमा आएको गिरावटले नियन्त्रण कार्यमा केही बाधा पुर्याए पनि विश्व स्वास्थ्य संगठन र युनिसेफले आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन सुरु गरेका छन् ।
सन् १९७६ मा पहिलोपटक इबोला नदी नजिक पहिचान भएको यो भाइरसले कङ्गोमा पटक–पटक मानवीय संकट निम्त्याउँदै आएको छ। सन् २०१८ देखि २०२० सम्म फैलिएको ‘जायरे’ प्रजातिको इबोलाका कारण कङ्गोमा २ हजार २ सय भन्दा बढीको मृत्यु भएको थियो ।