पार्टी एकताका लागि शेखर कोइरालाको पाँच प्रस्ताव

होमल्याण्ड खबर

२०८३ जेष्ठ ११ गते, सोमबार १६:४० मा प्रकाशित

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि प्रस्ताव अघि सारेका छन् । कोइरालाले १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने प्रस्ताव गरेका छन् ।

१४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने उनको प्रस्ताव छ । यस्तै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने कोइरालाले प्रस्ताव गरेका छन् ।

कार्यसम्पादनमा सभापतिको बहुमत हुनेगरी गठन गर्ने उनको प्रस्ताव छ । निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने कोइरालाको प्रस्ताव छ ।

नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले सबै पुरानो सदस्यतालाई मान्यता नदिने निर्णय गरिसकेको छ । यसका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन बैठकले सातवटै प्रदेशमा जिम्मेवारी तोकेको छ ।