प्रचण्ड अझै एकदुई दिन अस्पतालमै रहने, अवस्था सुधारोन्मुख

होमल्याण्ड खबर

२०८३ जेष्ठ १७ गते, आईतवार १०:२५ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई अझै एकदुई दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

स्वास्थ्य समस्या देखिएपछि उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

उहाँको अवस्था सुधारोन्मुख छ,’ आचार्यले भने, ‘अझै एकदुई दिन उहाँलाई अस्पतालमै राख्नुपर्ने सुझाव उपचारमा संलग्न चिकित्सकहरूले दिनुभएको छ।’

विगत केही दिनदेखि अस्वस्थ रहेका प्रचण्डलाई अलिक गाह्रो भएपछि शनिबार बिहान अस्पतालमा भर्ना गरिएको हो।

उनमा रुघा र ज्वरोका साथै हल्का निमोनियासमेत देखिएको चिकित्सकले बताएका छन्।

आज बिहान अस्पतालमै पुगेर प्रचण्डलाई भेटेका नेकपाका युवा नेता रामप्रसाद सापकोटाले पनि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन्।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ प्रचण्डलाई भेटेपछिको तस्बिरसहित सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुँदै हुनुहुन्छ। बाहिर आएका फोटाहरू एआई निर्मित र कतिपय पोस्टहरू अफवाहहरू हुन्। निमोनिया बाहेक अरू कुनै समस्या छैन, भ्रममा नपरौँ।’