ज्ञानेन्द्र शाहीको माग- ‘दरबार हत्याकाण्ड छानबिन गर्न राष्ट्रपतिको बयान लिइयोस्’

होमल्याण्ड खबर

२०८३ जेष्ठ १९ गते, मंगलवार १३:१५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले २३ वर्षअघि भएको बीभत्स दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग बयान लिनुपर्ने माग गरेका छन् ।

जेठ १९ गतेको सोही त्रासदीपूर्ण दिनको स्मरण गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सरकारलाई यस्तो गम्भीर अपिल गरेका हुन् ।

तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित राजपरिवारका सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता शाहीले न्यायको खोजीमा राज्य संयन्त्रमाथि प्रश्न उठाएका छन् । उनले राजपरिवारले समेत न्याय नपाएको मुलुकमा गरिब, दुःखी र निमुखा जनताले न्याय पाउने आशा गर्नु निरर्थक हुने टिप्पणी गरेका छन् ।

शाहीले आफ्नो मागको मुख्य आधार तत्कालीन समयको प्रशासनिक जिम्मेवारीलाई बनाएका छन् । दरबार हत्याकाण्ड हुँदाका बखत देशको गृहमन्त्रीको रूपमा सुरक्षा र प्रशासनको बागडोर सम्हालेका व्यक्ति नै आज राष्ट्रपतिको उच्च ओहोदामा आसिन रहेको उल्लेख गर्दै शाहीले उनीसँग त्यसबेलाको परिस्थिति र भित्री घटनाक्रमबारे महत्त्वपूर्ण जानकारी हुन सक्ने दाबी गरेका छन् ।

“सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँसँग बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक विचार गरोस्,” शाहीले भनेका छन् ।