९ मंसिर २०८१, आईतवार
बंगालादेश प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम सिलेट सिक्सर्सले आज आफ्नो पहिलो खेल खेल्देछ । आज सिलेट सिक्सर्सले पहिलो खेलमा कोमिला भिक्टोरियन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार अहिले दिउँसो सवा १२ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण युट्युबमा हेर्न सकिनेछ ।
आजको खेलमा सन्दिप खेल्छन् वा खेल्दैनन् भन्ने प्रस्ट भइसकेको छैन । टिममा सन्दिपसँगै अर्का चर्चित लेगस्पिनर इमरान ताहिर पनि छन् । लिगमा एक टिमले ४ जनामात्र विदेशी खेलाडी खेलाउन पाउँछ । तीमध्ये एक खेलाडी कप्तानको हैसियतले अस्ट्रेलियाका डेभिड वार्नर हुनेछन् । यसबाहेक वेष्ट इण्डिजमा निकोलस पुरन र आन्द्रे फ्लेचर खेल्न सक्छन् । यदि पुरन र फ्लेचर दुवै खेलेको खण्डमा लेगस्पिनर तथा विदेशी खेलाडीको कोटामा नेपाली सन्दिप लामिछाने र दक्षिण अफ्रिकी इमरान ताहिर मध्ये एक जना मात्र अटाउनेछन् ।
यद्यपि आन्द्रे फ्लेचर विकेटकिपर हुन् र फ्लेचरको विकल्पमा टिमले अर्का विकेटकिपर लिटन दासलाई खेलाउन सक्छ । यदि लिटन दास खेलेको खण्डमा अन्य २ विदेशी खेलाडी टिमको प्लेइङ ११ मा अटाउनेछन् । यस्तो भएमा सन्दिप र ताहिर दुवै प्लेइङ ११ मा पर्न सक्छन् । प्लेइङ ११ मा कुन कुन खेलाडी राख्ने भन्ने विषयमा कप्तान डेभिड वार्नर र कोच वकार युनिसले निर्णय गर्नेछन् । सन्दिप अन्तिम ११ मा पर्छन् वा पर्दैनन् भन्ने १२ बजे थाहा हुनेछ ।