रास्वपा मोरङको सभापतिमा कँडेल निर्वाचित

होमल्याण्ड खबर

२०८३ जेष्ठ २४ गते, आईतवार १०:२० मा प्रकाशित

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेर निर्वाचित भएका छन् । पार्टीको शनिबार राति सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ टिम तयार भएको हो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा कँडेलले २०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले ९९ र अर्का उम्मेदवार सागर फुयालले ४१ मत पाए ।

जिल्ला नेतृत्व चयनको क्रममा उपसभापति पद भने सर्वसम्मत रूपमा टुंगिएको छ । उक्त पदमा विमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, सचिवमा दिवस नेपाल विजयी भएका छन् । उनले ९५ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेका हुन् । सचिव पदमा प्रतिस्पर्धा गरेका कुमार खुलालले ८५ मत र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए ।

सहसचिव पदमा सिर्जना गिरी आचार्यले उल्लेखनीय मतसहित विजय हासिल गरिन् । उनले २३० मत प्राप्त गर्दा प्रतिस्पर्धी सन्तोष सिंहले ११३ मत पाए । जिल्ला समितिका सदस्यहरूमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र परमेश्वर साह चयन भएका छन् ।