विपक्षी दलका सांसदहरूलाई अर्थमन्त्रीको धम्की

होमल्याण्ड खबर

२०८३ जेष्ठ २९ गते, शुक्रबार १३:५० मा प्रकाशित

नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरेको स्वीकार गरेर आर्थिक अपराध गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै पुनले अर्थमन्त्रीले संसद् र सार्वजनिक लेखा समितिमा दिएको अभिव्यक्तिले संसद्को अवमूल्यन भएको र सांसदहरूलाई धम्क्याउने प्रयास गरिएको बताए ।

उनले आफूहरूले सुरुदेखि नै शंकाको लाभ दिएको उल्लेख गर्दै अर्थमन्त्रीले ‘७ वटा करका दर हेरफेर गरेको’ स्वीकार गरेकाले त्यसबारे संसदीय छानबिन हुनुपर्ने माग गरे ।

पुनले मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि कुनै एक मन्त्रीले करका दर परिवर्तन गर्न नपाउने जिकिर गर्दै यसले संसद्को सर्वोच्चतामाथि प्रश्न उठाएको बताए ।

उनले २० लाख रुपैयाँभन्दा कम मूल्यका निश्चित ब्रान्डका गाडीलाई कर छुट दिइएको विषय सबैलाई थाहा भएको दाबी पनि गरे ।

उनले आफू सहित सबै पूर्वअर्थमन्त्रीका कार्यकालसमेत छानबिन गर्न तयार रहेको बताउँदै नयाँ सांसदहरू सम्मिलित समिति बनाएर निष्पक्ष अनुसन्धान गर्न प्रस्ताव गरे ।