हर्क साम्पाङकाे प्रश्न : सीमा विवादबारे प्रधानमन्त्रीको भनाइ रेकर्डबाट कहिले हट्छ ?

होमल्याण्ड खबर

२०८३ असार १ गते, सोमबार १२:३२ मा प्रकाशित

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति हटाउनुपर्नेमा जाेड दिएका छन्। आजकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीको साे अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको उनले बताए ।

‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं,’ साम्पाङले भने ।

त्यस्तै, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति उनले विरोध जनाए।

माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्। देशभक्त युवालाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न साम्पाङले माग गरे।