१ असार २०८३, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाले नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गरेकी छन् ।
चीनले आयोजना गरेको हरित विकास र मानव अधिकार विषयक विश्व सम्मेलनमा नेपालका तर्फबाट राना सहभागी भएकी हुन् । जसलाई सम्बोधन गर्दै पूर्वउपसभामुख समेत रहेकी रानाले नेपालमा ‘हरियो बन नेपालको धन’ भन्ने उक्ति नै रहेको सुनाइन् । यसले नेपालीहरूलाई वन संरक्षण गर्नमा मद्दत गर्नमा उत्प्रेरित गरिरहेको झल्काउने सुनाइन् ।


नेपाल, आकारमा सानो भए पनि, जैविक विविधतामा अविश्वसनीय रूपमा धनी रहेको उल्लेख गर्दै उनले थपिन्, ‘तराईको जंगलदेखि उच्च हिमालयी पारिस्थितिक प्रणालीसम्म, बाघ, एक–सिंगे गैंडा, रातो पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ र प्रतिष्ठित प्रजातिहरू पाइन्छन् ।’
हजारौं वनस्पति प्रजातिहरूले प्रकृति र जीविकोपार्जन एकसाथ अगाडि बढाइरहेको पनि उनले बताइन् ।
प्रेरणादायी उदाहरणका रुपमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको सन्दर्भ सुनाइन् । यसले वन संरक्षण र विकास कसरी सँगसँगै जान सक्छ भनेर देखाएको बताइन् ।
उनले आफूले आफ्नै गाउँमा विकासले कसरी प्राकृतिक सन्तुलन परिवर्तन गर्न सक्छ भनेर अनुभव गरेको पनि सुनाइन् । विकास नीतिहरूले मानिस र प्रकृति बीचको सन्तुलन खोज्नुपर्नेमा उनको जोड छ ।