७ असार २०८३, आईतवार
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । रास्वपाको आजदेखि असार ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् ।
लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको समेत थापाले उल्लेख गरेका छन् ।


यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको थापाको भनाइ छ ।
‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु’, कांग्रेस सभापति थापाले शुभकामना सन्देशमा भनेका छन् ।
थापाले रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै सभापति लामिछानेको आगामी राजनीतिक यात्राको सफलताका लागि समेत शुभकामना व्यक्त गरेका छन् ।