राति ११ बजे प्रकाशन गरिनेछ उम्मेदवारको अन्तिम नामावली

होमल्याण्ड खबर

२०८३ असार ८ गते, सोमबार १०:१८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान हुन गइरहेको छ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम हुनेछन्।

प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदैछ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ।

बिहान १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र  बिहान १०:४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ।  यसैगरी  बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ।

दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिए। उनले दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ बजेदेखि ९ बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ। उनका अनुसार बेलुकी ९:१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गरिने छ।

असार ९ गते मङ्गलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ। यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए। मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ। यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।