८ असार २०८३, सोमबार
सार्वजनिक अभिव्यक्तिमा रुचि नराख्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पार्टीका आन्तरिक विषय मात्रै उठाएनन्।
जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनमा अत्यधिक बहुमत पाएर सरकार गठन भएपछिको बालेनको यो पहिलो सार्वजनिक सम्बोधन हो।


अरू राजनीतिक दलहरूले रास्वपाको राजनीतिक दर्शन के हो ? भनेर सवाल उठाइरहँदा आफ्नो पार्टीलाई ‘विकासवादी’ भनेका उनले लिपुलेक र कालापानी नेपालकै भएको अडान दोहोर्याउँदै छिमेकी भारत र चीनलाई स्पष्ट सन्देश पनि दिएका छन्।
१. सरकार सिधा अघि बढ्छ
बालेनले आफू नेतृत्वको सरकार निरन्तर अघि बढ्ने बताए। उनले सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको भन्दै गन्तव्यमा पुगेपछि मात्रै ‘ब्रेक’ लाग्ने बताए।
‘सरकार भनेको त गाडी जस्तो हो गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ,’ उनले भने, ‘हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’
सरकारले आफ्नै रफ्तारमा हिँडिरहेको र कुनै पनि विषयले आफूलाई रोक्न नसक्ने उनको प्रस्ट सन्देश छ। आफू सही ‘ट्रयाक’ हिँडिरहेकाले कतै रोकिनु पर्ने अवस्था नआउने उनको भनाइ छ।
२. यो परिवर्तन अस्थायी होइन
बालेनले अहिलेको परिवर्तन स्थायी भएको अर्को सन्देश दिएका छन्।
‘जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ,’ उनी भन्छन्, ‘हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका छौँ।’
उनले जनताले दिएको मत आगामी दिनमा पनि रास्वपाबाहेकलाई नजाने संकेत गरे। ‘खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्टराइट उत्तरदक्षिण पूर्वपश्चिम बग्दैन,’ उनले भने।
बालेनले चुनावमा एउटै एजेन्डा बोकेर नजाने बताए। अहिले गरेका वाचाहरू यो कार्यकालमा सम्पन्न गरेर नयाँ एजेन्डा बोकेर जाँदा जनमत अन्यत्र नजाने विश्वास व्यक्त गरेका हुन्।
‘सुशासनका लागि एजेन्डा बोक्या छ, सुकुम्वासी समस्या हटाउँछु भन्या छ, हामीले यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ, सहकारी समस्या समाधान गर्छौँ,’ उनले भने, ‘अर्को चुनावमा फेरि यही एजेन्डा बोकर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकर जाने हो।’
३. प्रतिशोध नसाँध्ने, गल्ती गरेकालाई नछाड्ने
बालेनले आइतबार दिएको भाषणमा प्रतिशोध नसाँध्ने तर गल्ती गरेकालाई नछाड्ने स्पष्ट सन्देश दिएका छन्।
‘हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साँध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन,’ उनले भने, ‘ विगतका दिनहरुमा कुनै फटाही भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। त्यहाँ निहुँ खोज्छौँ हामी।’
उनले भ्रष्टाचार गरेकाहरूलाई कुनै पनि हालतमा नछाड्ने संकेत गरेका छन्।
४. देश बनाउन ‘वाद’ चाहिँदैन
रास्वपाले सुरुवातबाटै एउटा प्रश्नको सामना गर्नपर्यो, त्यो हो- पार्टीको राजनीतिक दर्शन के हो?
रास्वपाले आफूलाई बहुलवादी लोकतान्त्रिक पार्टी भनेको छ। तर, स्पष्टरूपमा आफ्नो विचारधारालाई प्रस्ट्याउन सकेको छैन।
यही विषयलाई पनि बालेनले महाधिवेशनको उद्घाटन सत्रमा उठाए। ‘हाम्रो पार्टीको चिन्तन कस्तो हो– लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नुपर्दैन,’ उनले भने, ‘हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो। हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो।’
उनले देशलाई समृद्ध बनाउन कुनै वाद, सिद्धान्त नचाहिने सन्देश दिन खोजेका छन्।
५. भ्रस्टाचारका फाइल खुल्छन्
भरतपुरको सम्बोधनमा प्रधानमन्त्री शाहले भ्रस्टाचारविरुद्ध सरकार निर्मम हुने तर नियम संगतरूपमा अख्तियारका पदाधिकारीसँग छलफल गर्न, सरसल्लाह गर्ने बताएका छन्।
सरकार अघि बढ्दा निहुँ खोज्नेहरू जो कसैलाई पनि नछोड्ने उनको भनाइ थियो। पुराना कुरा झिकेर प्रतिशोध नलिने तर विगतमा अनियमितता भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यहाँ सरकारले निहुँ खोज्ने भन्दै उनले आर्थिक अनियमितताका पुराना फाइल खोल्ने संकेत दिएका छन्।
६. गुटबन्दीविरूद्ध कडा
रास्वपा बरिष्ठ नेता समेत रहेका शाहले पार्टीभित्र हुनसक्ने सम्भावित गुटबन्दीका विषयमा पनि आफ्नो धारणा प्रस्ट राखेका छन्।
राम्रो राजनीतिज्ञ हुन समूहको नेता नभई जनताका आस्था, जनताको माया जित्नुपर्ने बताएका उनले चेतावनीकै भाषामा गुटबन्दीको बिउ नरोप्न रास्वपा कार्यकर्तालाई चेतावनी दिएका छन्।
‘समूहको बिउ अहिलै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस्’, उनले भनेका छन्।
७. लिपुलेक, कालापानी हाम्रै, प्रमाण छ
पार्टी महाधिवेशनको सम्बोधनमा सीमा विवादका विषयमा खुलेरै कुरा राखेका प्रधानमन्त्री शाहले कालापानी, लिपुलेक नेपालकै भएको प्रमाण रहेको विषयमा प्रस्ट अडान दोहोर्याए।
यति बेला ती ठाउँ कसको हो भन्ने विवाद भइरहँदा त्यहाँको सीमाको प्रमाण ब्रिटेनसँग रहेको र त्यो प्रमाण ल्याउनुपर्छ भनेर आफूले भनेको प्रस्टिकरण दिए।
ब्रिटेनलाई मध्यस्थकर्ता राख्न नखोजेको भन्दै आफ्नो राष्ट्रियतामा शंका नगर्न भनेका उनले छिमेकीसँगका आफैँले कुरा गर्ने र दुईपक्षीय संवादबाट समस्याको समाधान खोज्ने खुलस्त पारे। सरकार नियमभन्दा बाहिर नजाने भन्दै उनले आफ्ना कामहरु विधिसम्मत, कानुनसम्मत हुने कुरामा विश्वस्त दिलाउन प्रयास गरेका छन्।
उनको सम्बोधन जस्ताको तस्तै
नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है। यस ऐतिहासिक राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनु भएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्री गणहरू, सांसदज्यूहरू तथा उपस्थिति सम्पूर्ण देशप्रेमी राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु।
कुरा कताबाट सुरु गरौँ त आज खासमा चाहिँ महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने हाम्रो पार्टी जुन एउटा सानो महत्त्वाकांक्षा, सानो इच्छा, देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दा खेरी यो पार्टी आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने स्थापित गर्ने दिनमा आउँदा खेरी हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्नेनै कुरा गर्नुपर्छ।
आज विभिन्न विशिष्ट अतिथिहरू, विभिन्न सल्लाह दिनु भएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिनता पनि लिनुभएको छ।
सरकार भनेको त गाडी जस्तो हो गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दा खेरी गाडी सीधा गइराख्दा खेरी कहिले लेफ्टबाट गाडी आउँछ कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।
गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरुरी हुँदैन। र, हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ, धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु ।
चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिनता लिनुभएको छ।
हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका छौँ। र, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ।
यो हावा जस्तो कहिले लेफ्टराइट, उत्तरदक्षिण, पूर्वपश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनहुनेहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
मेरो एक जना अनन्य मित्र अहिले उहाँ हुनुहुन्न। उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले मयुजिक गर्दा खेरी बालेन स्पटलाइटमा आउन सहज हुन्छ, तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेता गणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई के भन्न चाहन्छु भने हामीलाई स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको हो। र, जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ।
हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रतिमात्रै चम्किँदैन। हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ। र, आज पार्टीप्रति। र, आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो लेफ्ट हो राइट हो सेन्टर हो, धेरै चिन्ता लिइराख्नुपर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्नै पार्टी हो।
हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साँध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन। निहुँ खोज्नु परे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ। कस्तो केसमा मात्रै भन्दा खेरी विगतका केही दिनमा विगतका दिनहरूमा कुनै फटाही भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। त्यहाँ निहुँ खोज्छौँ हामी। र, निहुँ खोज्दै गर्दा खेरी अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन, ५ वर्ष गर्छौँ। ५ वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नुपर्दैन।
हामीले नियम कानुन मिच्दैनौँ। नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दा खेरी यस्तो सोसल मिडियाहरू, मिडियाहरू हाउभाउ हेर्दा खेरी अलिकति अनियन्त्रित देखिएला। त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउटअफ कन्ट्रोल गएको छैन।
चिन्ता कुनै विषयमा लिनुपर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दा खेरी पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरी उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो। ल ठिक छ तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग प्रमाण छ।
हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दा त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ।
हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र, हामी ल्याउँछौँ। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नुपर्दैन। कसैले पनि मान्नु पर्दैन। र, विशेष गरी पार्टीको कुरा गर्दा खेरी पार्टीको महाधिवेशन चल्दै छ, आज भोलि पर्सि, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिले देखि हाम्रो संस्कार चाहिँ कताकता बिग्रिएको थियो पहिला। गुट बनाउने, उपगुट बनाउने।
एउटा कुरा तपाईंहरूलाई यहाँ हुनुहुन्छ होला महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ होला। पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला। तपाईंहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नुहोला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ। हामीले पुरानाहरूबाट सिक्नुपर्छ।
र, एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा हो। हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भन्या छ, सुशासनको लागि एजेन्डा बोक्या छ, सुकुम्वासी समस्या हटाउँछु भन्या छ, हामीले यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ, सहकारी समस्या समाधान गर्छौँ।
अर्को चुनावमा फेरि यही एजेन्डा बोकर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकर जाने हो। र, भोलि पर्सि हुने चुनाव भयो। अथवा केही भयो। चुनावमा कसैलाई सीसीएम बन्न लाग्छ, कसैलाई पदाधिकारी। बन्नुभयो ठिकै छ बन्नुभएन भने पनि चिन्ता किन लिनुपर्दैन भन्दा खेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो।
र, एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्धानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। भोलि तपाईंले सीसीएम जित्नुभएन, म सीसीएम भएको भए यो गर्थे भन्ने छ भने आउनुस् भन्नुस् पार्टीलाई भन्नुस्। भोलि तपाईं सांसद हुन सक्नुभएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुस्, तपाईंलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ। यो सरकारले गर्छ।
र, हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू सीसीएमहरू विभिन्न जिल्लाबाट आउनुभएको छ। उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु।
अझै बोलौँ? के गरौँ?
ठिकै छ, अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भन्या जस्तै। ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ। एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईंहरूलाई भन्दा खेरी पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो। पार्टीलाई एक बनाउनुपर्छ। आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ, त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ, धेरैधेरै धन्यवाद।