३० कार्तिक २०८१, शुक्रबार
सत्याग्रही प्राडा गोविन्द केसी सरकारप्रति निकै आक्रामक देखिएका छन् । उनीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिबाट आइतबार बहुमतका आधारमा पारित भएपछि उनी एकाएक आक्रामक भएका हुन् ।
उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी आक्रोश पोखेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पार्टीका माफियासंग बिकेको भन्दै पुनः आमरण अनसन बस्ने बताएका छन् ।
उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घतीले सार्वजनिक रुपमै आफूसंग सम्झौता अनुरुप नै विधेयक पारित हुन्छ भनेकाले सत्याग्रह पुस २५ गतेसम्म सारेको र यसलाई सच्याउन माग गरेका छन् ।
उक्त सहमति विपरित उपसमितिले पठाएको प्रतिवेदन सच्याउन समितिलाई उनले माग गरेका छन् । त्यसो नभए पुस २५ अगाडि नै सत्याग्रह सुरु गर्न वाध्य हुने डा केसीले बताए ।
उनले नेकपाका युवा नेताहरु माफियासंग बिके पनि काँग्रेस सांसद गगन थापा एक्लै भए पनि जनताका मागप्रति लडिरहेको भन्दै प्रशंसा गरे ।
उनले तीन बुँदे मागसमेत सार्वजनिक गरेका छन् ।