१४ असार २०८३, आईतवार
नेकपाका सहसंयोजक माधव नेपालले भावनात्मक अपिल र नाराले मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् ।
कम्युनिस्ट आन्दोलनभित्र देखिएका विगतका विसङ्गतिको गम्भीर आत्मसमीक्षा र आत्ममन्थनबाट सही निष्कर्षमा पुगेपछि मात्रै वास्तविक एकता सम्भव हुने उनको भनाइ छ ।


मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।’
नेपालले कम्युनिस्ट एकताका लागि सबैभन्दा पहिले मन मिल्नुपर्नेमा जोड दिए । उनले मदन भण्डारीको भनाइ उद्धृत गर्दै केवल कुरा गरेर परिणाम नआउने बताए ।