मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

होमल्याण्ड खबर

२०७५ पुष २३ गते, सोमबार १२:५७ मा प्रकाशित

एजेन्सी – स्टार स्ट्राइकर कप्तान लियोनल मेस्सी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलमा बार्सिलोनाले मेस्सीको गोलमा खाता खोलेको थियो । मेस्सीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको उत्साह बढाए । ३९औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना खेलमा २–० ले अघि बढेको थियो । ४३औं मिनेटमा जेमी माटाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा झारे पनि टोलीलाई हारबाट जोगाउन सकेन् ।

यस जितसँगै लिगमा १८ खेल सकेको बार्सिलेनाले ४० अंक बनाएको छ । बार्सिलेना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा पाँच अंकले अगाडी छ । समान खेल सकेको एट्लेटिको ३५ अंक छ । २५ अंक बनाएको गेटाफे सातौं स्थानमा छ ।

आइतबार रातिनै भएको खेलमा एट्लेटिको म्याड्रिड सेभिल्लासँग १–१ गोलका बराबरीमा रोकिएको छ । सेभिल्लाको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाका विसाम बिन याडरले ३७औं मिनेटमा पहिलो गोल गरे । एट्लेटिकोका एन्टोइन ग्रिजम्यानले ४५औं मिनेटमा बराबरी गोल फर्काएका थिए । यस बराबरीपछि तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक बनाएको छ ।

यसैगरी आइतबार रातीनै भएको अर्को खेलमा स्पेनिस जाइन्ट किलरको छबि बनाएको रियल म्याड्रिड रियल सोसिएडाडसँग २–० गोलले पराजित भएको छ । रियललाई घरेलु मैदानमा पराजत गर्न सोसिएडाडका विलियन जोसले तेस्रो मिनेटमै पेनाल्टी मार्फत गोल गरेका थिए । ८३औं मिनेटमा रुवेन पाड्रोले गोल गर्दै टोलीको जित सहज बनाए ।

६१औं मिनेटमा रियलमा लुकास भाजक्वीन दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएप्छि रियल थप दवावमा परेको थियो । हारसँगै यसअघि ३० अंक बनाएको रियल पाँचौं स्थानमा छ । २२ अंक बनाएको सोसिएडाड ११औं स्थानमा छ ।