सरकारले पुरानो शैली भत्काउने प्रयास गरेको छ,अझै केही समय दिनुपर्छ : बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०८३ असार १९ गते, शुक्रबार १२:२० मा प्रकाशित

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनलाई पुरानै संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा उल्लेखनीय उपलब्धि नदेखिए पनि परम्परागत शासकीय शैली परिवर्तन गर्ने प्रयासका रूपमा सकारात्मक रहेको बताएका छन्।

सामाजिक सञ्जालमा मार्फत उनले शुक्रबार सरकारको १०० दिनबारे आ–आफ्नो दृष्टिकोणअनुसार फरक मूल्याङ्कन हुनु स्वाभाविक रहेको बताएका हुन्। उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने भनाइ राख्दै सरकारको समीक्षा फरक हुन सक्ने बताएका हुन्।

पुरानै संसदीय राजनीतिको निरन्तरताको चस्माबाट हेर्दा सरकारका यी १०० दिन खासै उपलब्धिमूलक नदेखिन सक्छन्। बरु परम्परागत राजनीतिक शैली भत्किन थालेकोप्रति केहीमा आशंका र चिन्ता पनि उत्पन्न हुन सक्ने उनको भनाइ छ।

तर युग परिवर्तन, राजनीतिको पुस्तान्तरण तथा गैरराजनीतिक नयाँ पुस्ताको नेतृत्वजस्ता पक्षलाई आधार मानेर हेर्दा यी १०० दिनलाई पुरानो शासकीय शैलीको ध्वंस र नयाँ शैलीको निर्माणको प्रारम्भिक प्रयासका रूपमा लिन सकिने बताएका छन्। त्यसैले सरकारलाई केही समय ‘शंकाको लाभ’ दिनु उपयुक्त हुने उनले बताएका छन्।

भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर अर्थतन्त्र र तीव्र आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दा सरकारका पहिलो १०० दिनलाई सिकाइको अवधि मान्नुपर्ने भन्दै आगामी दिनमा अझ गम्भीरता, मेहनत र स्पष्ट कार्यदिशासहित अघि बढ्नुपर्ने उनको सुझाव दिएका छन्।