२२ असार २०८३, सोमबार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधन जस्तो संवेदनशील र राष्ट्रिय महत्त्वको विषयलाई सरकारले अत्यन्तै हल्का रूपमा लिएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता आङदेम्बेले संवैधानिक कानुनको न्यूनतम ज्ञान समेत नभएको र संविधान निर्माणमा कुनै योगदान नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाइएको भन्दै सरकारको कदमप्रति कडा आपत्ति जनाए।
सरकारको कार्यशैली र प्रधानमन्त्री वालेन्द्र साहको प्रवृत्तिको कडा आलोचना गर्दै नेता आङदेम्बेले भने, “लोकतन्त्र संवाद र सहमतिबाट चल्छ, तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। प्रधानमन्त्रीज्यू लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइराखेको छ सभामुख महोदय। यो पटक्कै राम्रो सङ्केत होइन।”


नेता आङदेम्बेले सरकारलाई ‘उल्टो जुत्ता लगाएर हिँडिरहेको’ टिप्पणी गर्दै यसरी गन्तव्यमा पुग्न नसकिने चेतावनी दिए। राष्ट्रिय महत्त्वका विषयमा सबै दलहरूसँग साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा सरकारले एकलौटी ढंगले अपरिपक्व निर्णयहरू गरिरहेको उनको आरोप थियो।
संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले थपे, “स्मरण रहोस्— खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। अहिले जसरी संवैधानिक कानुनको ज्ञात नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र तयार गरिँदै छ, यो एकदमै अपरिपक्व काम हो। आफ्ना आसपासका मान्छे राखेर भन्दा पनि हाम्रो संविधानले चिनेको बहालवाला वा अवकाशप्राप्त प्रधानन्यायाधीशमार्फत यो प्रक्रियाको थालनी खोजिनुपर्छ।”