प्रधानमन्त्री बालेनविरुद्ध भिडियो बनाएको आरोप लागेका रोशन पुर्पक्षका लागि जेल चलान

होमल्याण्ड खबर

२०८३ असार २३ गते, मंगलवार १३:५४ मा प्रकाशित

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायतका नेताहरू विरुद्ध अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटे घर भएका पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत पाँचथरले जनाएकाे छ ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । पक्राउकाे देशभर व्यापक विरोध भएपछि प्रहरीले चैत २९ गते परिवारलाई जिम्मा लगाएको थियो ।

तर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सरकारी वकिलको अभियोग पत्रमा पोखरेलले प्रधानमन्त्री शाह तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान र प्रतिष्ठामा आँच आउने गरी अपमानजनक तथा अमर्यादित शब्दहरू प्रयोग गरी भिडियो तथा स्टाटस पोस्ट गरेको उल्लेख छ ।