२१ भाद्र २०८३, आईतवार
भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन बाँकेका संवेदनशील सीमा नाकामा सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई तीव्र पारिएको छ।
चोरी–पैठारीलगायत अन्य अवैध गतिविधि नियन्त्रण गर्न नेपाल–भारत सीमाका विभिन्न सहायक नाकामा सिसिटिभी क्यामेरा जडान गरिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ।


सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जिल्लाको दुर्गम मानिने नरैनापुर गाउँपालिकाअन्तर्गतको घरदौरिया सीमा क्षेत्रमा यसअघि नै सिसिटिभी क्यामेरा जडान गरिएको बताउनुभयो। उहाँका अनुसार हाल नेपालगन्जस्थित जमुनाहा नाकाको पूर्वतर्फ पर्ने शर्मा गल्ली आसपासका सहायक नाकामा समेत क्यामेरा जडान गरिएको छ।
प्रमुख चन्दले शर्मा गल्ली क्षेत्रबाट लामो समयदेखि मानिसको आवतजावत बढी हुने र चोरी–पैठारीको जोखिम रहेको संवेदनशील क्षेत्र भएकाले निगरानीका लागि क्यामेरा जडान गरिएको बताउनुभयो।
सहायक नाकाका विभिन्न क्षेत्रमा सिसिटिभी क्यामेरा जडान भएपछि अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र सुरक्षा निगरानी प्रभावकारी हुने स्थानीयवासीले बताएका छन्।
जमुनाहा क्षेत्रका स्थानीय राजन मौर्यले विशेषगरी रातिको समयमा हुने शंकास्पद गतिविधि नियन्त्रण गर्न र आवश्यक परेको अवस्थामा प्रमाण संकलन गर्न सिसिटिभी प्रभावकारी हुने बताउनुभयो।
त्यस्तै, नरैनापुरको घरदौरिया क्षेत्रका स्थानीय रजब खाँले पनि सिसिटिभी जडानले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी–पैठारी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले प्रविधिको प्रयोगमार्फत सुरक्षा व्यवस्थापन सुदृढ बनाउने यो कदमले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई निगरानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
सीमा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले अपराध नियन्त्रण, घटनाको अनुसन्धान तथा सुरक्षा संयन्त्रको कार्यक्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय भारतबाट ल्याइने सामानमा गरिएको कडाइपछि सहायक नाकाबाट चोरी–पैठारी र तस्करी बढेको गुनासो आउने गरेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै संवेदनशील सहायक नाकामा क्यामेरा जडान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।