५ श्रावण २०८३, मंगलवार
पछिल्लो समय शेयर बजारमा देखिएको निरन्तर गिरावट र लगानीकर्तामा बढ्दो प्यानिकका बीच प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग आज विशेष छलफल गर्ने भएका छन्।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन्।


यस्तै, पुँजी बजारसँग सम्बन्धित सरोकारवाला प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ।
पछिल्ला दिनहरूमा शेयर बजारमा देखिएको तीव्र उतारचढाव, लगानीकर्ताको घट्दो विश्वास तथा बजार सुधारसम्बन्धी बहस तीव्र भइरहेका बेला प्रधानमन्त्री आफैंले सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न लागेकाले यस बैठकलाई अर्थतन्त्र र पुँजी बजारका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।
बैठकबाट पुँजी बजारको स्थायित्व, लगानीकर्ता विश्वास अभिवृद्धि तथा आवश्यक नीतिगत सुधारका विषयमा सरकारको आगामी धारणा र सम्भावित कार्यदिशाबारे महत्वपूर्ण संकेत आउने अपेक्षा गरिएको छ।