साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

होमल्याण्ड खबर

२०८३ श्रावण ४ गते, सोमबार १३:२४ मा प्रकाशित

यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ ।

बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजेपछि भक्तजनको लाम अझ बढेको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाअन्तर्गत मूल मन्दिर हेर्नुहुने विसेट नायके अरुणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बिहान ९ः०० बजेसम्म आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरी दर्शन सकेर फर्कने अवस्था रहेकामा अहिले डेढ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो । आज बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहजरुपमा दर्शन गर्नुभयो ।

मन्दिरको दर्शन गर्ने चार वटा लामको व्यवस्था गरिएको छ  । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

साउने झरीको वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्नुभएको थियो । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजाको व्यवस्था गरिएको छ ।

कोषले यस वर्ष रु एक हजारको टीकट लिएमा सुलभ रुपमा दर्शन गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस व्यवस्थाले सहज रुपमा दर्शन गरी काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पदाधिकारीको नियुक्ति केही दिन अघि मात्रै भएकाले कतिपय विषय व्यवस्थित तुल्याउने सन्दर्भमा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गरिने प्रतिबद्धता जनाउनुभयो ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका पदाधिकारी, कर्मचारी, मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा  सामाजिक सङ्घ–संस्थाले सहयोग पु¥याइरहेका छन् ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । आज विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने छ । यस वर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेको कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताउनुभयो । रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले त्यहाँ पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा र दर्शन गर्नै पर्ने परम्परा छ ।

पशुपतिनाथमा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट जल बोकेर आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ ।

पहिलो सोमबारअर्थात् आज कमै मात्रामा बोलबम यात्री जल लिएर आएको बिसेट नायके श्रेष्ठले बताउनुभयो । साउन ११ र १८ गतेको सोमबार भने बोलबम यात्रा गरेर आउने भक्तजन धेरै हुने गरी कार्यक्रम तय भएको जानकारी पनि उहाँले दिनुभयो ।