नयाँ बसपार्कको गेस्टहाउसमा २५ वर्षीया युवतीको हत्या

होमल्याण्ड खबर

२०८३ श्रावण ४ गते, सोमबार १६:४८ मा प्रकाशित

काठमाडौंको नयाँ बसपार्कस्थित एउटा गेस्टहाउसमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । कैलालीको धनगढीकी २५ वर्षीय निशा सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

काठमाडौंकै माछापोखरीमा बस्दै आएकी निशा केही दिनअघि उक्त गेस्टहाउसमा रहन पुगेको खुलेको छ । आइतबार (साउन ३) भने निशा बसेको कोठाबाट गन्ध आएपछि गेस्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले कोठा खोलेर हेर्दा निशाको शव फेला पारेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा निशाको हत्या गरिएको खुलेको एसपी भट्टराईले बताए ।

प्रहरीले निशासित सम्बन्धित शंकास्पद व्यक्तिहरूको खोजी थालेको छ ।