‘गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ – सभापति गगन थापा

होमल्याण्ड खबर

२०८३ श्रावण ६ गते, बुधबार १०:२० मा प्रकाशित

 नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे ।

उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रणसमेत गरे ।

थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उनले प्रतिबद्धता जनाए ।