११ श्रावण २०८३, सोमबार
नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल असन्तुष्ट रहेकाले उनलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ ।
सोमबार बिहान साढे ९ बजे भएको उक्त भेटवार्तामा यही विषयमा केन्द्रीय रहेर छलफल भएको बुझिएको छ । माधव नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार, भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । नेपालको असन्तुष्टिमा केन्द्रीय रहेर प्रचण्डले आश्वस्त पार्ने प्रयास गरेको बताइएको छ ।


शनिबारको सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने उल्लेख छ ।
नेपाल निकट नेता रामकुमार भट्टराईले नयाँ सरकारले गर्ने नवीन कार्यहरू र जनतालाई दिने डेलिभरीका विषयमा प्राथमिकता निर्धारण नगरिएकाले सहमति परिपक्व नभएको नेपालको बुझाइ रहेको बताए ।
प्रचण्डले भने गठबन्धनलाई मजबुत बनाउन माधव नेपालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने आश्वासन दिएका छन् ।