१३ श्रावण २०८३, बुधबार
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले आन्दोलनलाई थप तीव्र बनाएको छ। सोही क्रममा बुधबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले इमर्जेन्सीमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि भएको आक्रमणले सम्पूर्ण स्वास्थ्यकर्मी समुदायलाई असुरक्षित बनाएको बताए।


आन्दोलन कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा अध्यक्ष रिजालले सरकारको कदममै आन्दोलनको भविष्य निर्भर रहेको बताए।
उनले भने, “राज्यले हाम्रा जायज माग तत्काल सम्बोधन गर्यो भने आजैदेखि, अहिलेदेखि नै आन्दोलन अन्त्य हुन्छ। चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न पाउनुपर्छ। जसले चिकित्सकमाथि हातपात गरेका छन्, उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गरिनुपर्छ।”
पटक–पटक चिकित्सकमाथि आक्रमण र त्यसपछि सेवा बन्द हुने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए।
चिकित्सकलाई कानुनी रूपमा संरक्षण गर्ने व्यवस्था पनि थप स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। उपचारसम्बन्धी कानुनी प्रावधान, उपभोक्ता अदालतलगायतका व्यवस्थामा आवश्यक संशोधन गरी चिकित्सकलाई दोषी ठहर गर्ने मानसिकताभन्दा निष्पक्ष कानुनी प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
यता आन्दोलनसँगै सरकारसँगको संवाद पनि जारी रहेको बुझिएको छ। चिकित्सकहरूले आफ्ना मागको सुनुवाइ नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्न सकिने संकेत दिएका छन्। नारायणी अस्पतालमा भएको घटनापछि सुरु भएको आन्दोलनका कारण देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा ओपीडी सेवा प्रभावित भएको छ भने आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमा छन्।