१४ श्रावण २०८३, बिहीबार
स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवास प्याकुरेलले स्वास्थ्य क्षेत्रलाई बिरामी तथा नागरिक केन्द्रित बनाउन स्वास्थ्य बीमाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
उनले स्वास्थ्य बीमा कार्यक्रम हाल करिब २ करोड ९० लाख मानिसलाई छुने देशकै महत्त्वपूर्ण कार्यक्रम रहेको बताए। नेपाल सरकारले आगामी तीन वर्षमा करिब ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले उक्त लक्ष्य प्राप्तिका लागि आफूले सकारात्मक भावनाका साथ काम गर्ने प्रतिबद्धता जनाए।


अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा बोर्डलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सरोकारवाला सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेकोमा प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय तथा छनोट र सिफारिस समितिप्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताए।