देवानगन्ज गोलीकाण्डको मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

होमल्याण्ड खबर

२०८३ श्रावण १८ गते, सोमबार १२:५१ मा प्रकाशित

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले औपचारिक अनुसन्धान सुरु गरेको छ ।

आयोगले घटनालाई स्वविवेक उजुरीका रूपमा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीसँग सात दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान अघि बढाइएको जनाउँदै आयोगको कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गरेका छन् । आयोगले घटनाको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमनसमेत सुरु गरेको जनाएको छ ।

साउन १० गते राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समुदायबीचको झडप हिंसात्मक बनेपछि नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका दुई जनाको  मृत्यु भएको तथा केही व्यक्ति घाइते भएका थिए । सोही घटनाको मानव अधिकार पक्षको मूल्यांकन गर्न आयोगले अनुसन्धान थालेको हो ।

नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ११ अनुसार आयोगले प्रहरीसँग घटनाको विस्तृत विवरण माग गरेको छ । घटनाको सुरुआत कसरी भयो, घटनास्थलमा कति प्रहरी परिचालन गरिएको थियो, उनीहरूको नाम र सम्पर्क विवरण, बल प्रयोग आवश्यकताअनुसार भएको वा नभएको तथा गोली चलाउने पक्षको पहिचानलगायतका विषयमा स्पष्ट जानकारी उपलब्ध गराउन आयोगले भनेको छ ।

त्यसैगरी, घटनामा मृत्यु हुने र घाइते हुने व्यक्तिहरूको नामावली, पोस्टमार्टम प्रतिवेदन, लासजाँच प्रकृति मुचुल्का, घाइतेहरूको घाउ जाँच प्रतिवेदनसहित सम्बन्धित कागजातका प्रमाणित प्रतिलिपि पनि आयोगले माग गरेको छ । पत्र प्राप्त भएको सात दिनभित्र सबै विवरण उपलब्ध गराई अनुसन्धानमा सहयोग गर्न आयोगले प्रहरीलाई निर्देशन दिएको छ ।

निमित्त प्रमुख पाठकका अनुसार आइतबारदेखि आयोगले प्रहरीलाई आग्रह गरेको छ । आयोगले घटनास्थलमा पुगेर तथ्य संकलन र स्थलगत अध्ययन गरिरहेको पाठक बताउँछन् । उनले प्रहरीसँग आवश्यक सबै विवरण माग गरिएको र निष्पक्ष अनुसन्धानका लागि स्थलगत अनुगमनलाई पनि निरन्तरता दिइएको बताए ।