ग्यास आपूर्ति सहज बनाउन‘क्विक रेस्पोन्स टिम’ गठन

होमल्याण्ड खबर

२०८३ श्रावण २० गते, बुधबार १६:१८ मा प्रकाशित

नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति प्रभावकारी र सहज बनाउन ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरेको छ। निगमका अनुसार टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरघरमा एलपी ग्यासको आपूर्ति कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएपछि क्यूआरटी गठन गरिएको निगमले जनाएको छ।

ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरूको सहभागितामा उक्त संयन्त्र बनाइएको हो। टोलीमा मन्त्रालयका तर्फबाट मंगल विष्ट तथा निगमका तर्फबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी सदस्य छन्। त्यसैगरी ग्यास उद्योगको प्रतिनिधित्व आयुस नेपाल र कुलप्रसाद राईले गरेका छन्।

देशका कुनै पनि क्षेत्रमा एलपी ग्यासको अभाव, वितरणमा अवरोध वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु क्यूआरटीको प्रमुख जिम्मेवारी रहने निगमले जनाएको छ। हटलाइनमार्फत प्राप्त हुने गुनासोलाई सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरेर शीघ्र समाधान गरिने व्यवस्था गरिएको छ।

निगमका अनुसार पछिल्ला दिनमा विभिन्न स्थानबाट ग्यास आपूर्तिमा समस्या भएको गुनासो बढ्न थालेपछि त्यसको तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। कार्यालय समयमा प्राप्त हुने उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने गरी टोली परिचालन गरिनेछ।

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्यूआरटीले आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।