कोइराला निवास बनाउन सरकारले दिएको २ करोड शेखरले गरे फिर्ता

होमल्याण्ड खबर

२०८३ श्रावण २२ गते, शुक्रबार ११:०३ मा प्रकाशित

कांग्रेसका नेता शेखर कोइरालाले सरकारले विराटनगरस्थित कोइराला निवास निर्माणका लागि छुट्याएको बजेट फिर्ता गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा कोइराला निवास निर्माण गर्न २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। जेनजी आन्दोलनको क्रममा २४ भदौ २०८२ मा जलाइएको कोइराला निवास निर्माण गर्न भन्दै सरकारले बजेट दिएकोमा फिर्ता गरिएको कोइरालाले जनाएका छन्।

विराटनगर महानगरपालिका-७ मा रहेको कोइराला निवासलाई चेतनाको धरोहर र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको घर भनी सरकारले बजेट छुट्याएको थियो।

“राज्यसामु आम नागरिक जो बञ्चना, अभाव र अनेकन कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस्, नैतिक रुपमा म उक्त रकम स्वीकार गर्न सक्दिनँ,” कोइरालाले भने।

कृष्णप्रसाद कोइरालाद्वारा शैक्षिक जागरणमार्फत् समाज रुपान्तरणको अभियान शताब्दी पहिले सुरु गरेका थिए। त्यस कार्यलाई बीपी कोइरालाको नेतृत्वमा समस्त परिवारको साथ, समर्पण र सहयोगमा राजनीतिक, बौद्धिक र सामूहिक चेतनाको संघर्षमा परिणत गरेपछि कोइराला निवास स्थापना भएको थियो।

शेखरले आज पनि कोइराला निवास मेची-महाकाली र देशैभरि फैलिएको बताए। कोइरालाले बजेट फिर्ता गरेको चिठी पर्यटन मन्त्रालयलाई पठाएका छन्।