सरकार जनसरोकारका विषयलाई छाेडेर मधुमास मनाउन व्यस्त रहेकाे रहेको सचेतक राईकाे टिप्पणी

होमल्याण्ड खबर

२०८३ श्रावण २२ गते, शुक्रबार १३:५८ मा प्रकाशित

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार जनसरोकारका विषयलाई छोडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक राईले बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेनदशील नभएको सचेतक राईको आरोप छ । उनले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

साथै उनले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन्। पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताए । सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्‍याएको योगदानको स्मरण गरे ।

सचेतक राईले आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गरेका छन्। आफू जन्मले नभई विचार र चिन्तनले कांग्रेस भएको स्पष्ट पारे ।

सचेतक राईले पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उहाँले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गरे। यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको तर्क थियो । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उनले चिन्ता व्यक्त गरे ।

सचेतक राईले कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उनले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिए । पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी कांग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात गर्न उनले सबैलाई आह्वान गरेका छन्। सचेतक राईले कांग्रेसको आन्तरिक रूपान्तरणको बारेमा चर्चा गर्दै पार्टीको कार्यशैलीमा परिवर्तन आएको दावी गरे।