जलेका स्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुन्छ : अर्थमन्त्री वाग्ले

होमल्याण्ड खबर

२०८३ श्रावण २६ गते, मंगलवार १५:४१ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका हुन्। धेरै क्षति भएका कार्यालयहरूमा स्थलगत अनुगमन गरी विशेष निगरानीमा राख्नुपर्ने उनले बताए।

उनले भाद्र २३ र २४ गते घटनामा फरक–फरक बुझाइ रहे पनि काबुबाहिरको परिस्थितिका रूपमा आफूले बुझेको उल्लेख गरे। यस्ता घटनालाई मध्यनजर गर्दै कागजातको डिजिटलाइजेसनमा सरकारले जोड दिएको उनको भनाइ छ।

बैठकमा महालेखापरीक्षक तोयम रायाले आन्दोलनका क्रममा स्रेस्ता जलेपछि १ खर्ब ४७ अर्ब ८९ करोड ६९ लाखको अडिट गर्न नसकेको प्रतिवेदनमा उल्लेख रहेको बताए। विनियोजन खर्च भइसकेको अवस्थामा बैंक अकाउन्ट माग गरेर सम्बन्धित कार्यालयले प्रमाणित गराउने व्यवस्था गर्दा उचित हुने उनले बताए।

बैठकमा समिति सदस्यहरूले जेनजी आन्दोलनका क्रममा जलेका स्रेस्ता सम्बन्धमा सरकारले नै आवश्यक निर्णय गर्नुपर्ने धारणा राखेका छन्।

समिति सदस्य वर्षमान पुनले उक्त घटनाको बहानामा कुनै पनि किसिमको अनियमितता, भ्रष्टाचार वा खराब नियतले काम नहोस् भन्ने कुरामा समिति सतर्क रहनुपर्ने बताए। १ खर्बभन्दा बढीको लेखापरीक्षण हुन नसक्नुको कारण भाद्र २३–२४ गतेको घटना भनिए पनि यस किसिमको अवस्थालाई सम्बोधन गर्ने हाल कुनै स्पष्ट कानुनी व्यवस्था नरहेकाले सरकारको आधिकारिक दृष्टिकोण स्पष्ट हुनुपर्ने उनले उल्लेख गरे।

त्यस्तै समिति सदस्य खगेन्द्र सुनारले वित्तीय कारोबारका अन्य रेकर्डहरू अन्यत्र वा कुन तहसम्म सुरक्षित छन् भन्नेबारे गहन छानबिन र छलफल हुनुपर्ने धारणा राखे। प्राकृतिक प्रकोप वा दुर्घटनाका नाममा क्षति मूल्याङ्कन गरी सोझै मिनाहा दिने कानुनी प्रावधान अति नै कमजोर र स्वार्थअनुकूल हुने उनको भनाइ छ।

त्यस्तै अन्य सांसदहरूले क्षति भएका निकायहरूसँग प्रतिवेदन माग गरेर छलफल गर्न सहज हुने सुझाव दिएका थिए।